हेटाँैडा — बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । आज आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाए अनुसार सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक अहिले बिहान १० बजे प्रदेशसभा सचिवालयमा बस्नेछ । बैठक गत सोमबारदेखि बस्न नसकी तीन तीन पटकसम्म सारिएको छ ।
त्यसबिचमा सरकार र विपक्षी दलहरूबिच भएको पटक पटकको छलफलबाट ठोस निष्कर्ष निस्कन नसकेपछि २० गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर २४ गते बिहान ११ बजेका लागि बोलाइएको थियो । २४ गतेको बैठक पनि चल्न सक्ने अवस्था नदेखिएपछि सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

सभामुख पाठकले पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सबै दलहरूसँग छलफलको तयारी गर्नुभएको छ । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ । उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि प्रदेशसभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालू आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयनको माग गर्दै प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित भएको हो ।