फाइल तस्वीर
काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइमा आज बिहीबार जवाफी बहस हुँदैछ । मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो ।


न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे गत सोमबारदेखि सुनुवाइ भइरहेको छ । अस्ति मङ्गलबार निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो ।


मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिए पनि विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।
यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । सोही अनुसार सोमबारदेखि पूर्ण इजलासमा बहस अघि बढेको छ ।