प्रतिकात्मक तस्वीर
टोकियो — जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । प्रधानमन्त्री किसिदामाथि गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेको अभियोगमा ती युवकमाथि ज्यानमार्ने अभियोग लगाइएको हो ।
यद्यपि उक्त आक्रमणबाट प्रधानमन्त्री किसिदामाथि कुनै दुर्घटना घटेन । ती आक्रमणकारी युवालाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरेका थिए ती युवकविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको जापानको जिल्ला अदालतले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि हत्या गर्ने अभिप्रायले आक्रमण भएको थियो । प्रधानमन्त्रीलाई लक्षित गरी भएको आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए । सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।