फाइल तस्वीर
हेटौंडा — भारतको सिलाङबाट बुटवल जाँदै गरेको युपी ७५ एटि ८६३२ नम्बरको भारतीय ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको उक्त गाडीमा एक करोड तीस लाख बराबरको भन्सार छलीका सामानसहित प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रकका चालक भारत उत्तर प्रदेशका ५५ वर्षका गोरेलाल, तनहुँ ब्यास नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षको निमकाजी श्रेष्ठ र पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३९ का खेमबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुले भारतीय सैनिकको रिटायर्ड बन्दोबस्तीको सामान भनि भन्सार बिल देखाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीको टोलीले शङ्का लागेर सामान चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएका सामान भेटिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको सिलाङबाट बुटवल जान लागेको उक्त ट्रकबाट ८३ लाख २९ हजार बराबरको लत्ताकपडा, ३ लाख ५० हजार बराबरको ईलोक्ट्रोनिक्स सामान, १६ लाख ३८ हजार मूल्य बराबरको मदिरा र ३१ लाख २७ हजार मूल्य बराबरको अन्य सामान बरामद गरेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो ।

ट्रक, बरामद सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।