फाइल तस्वीर

बुटवल — नेपाल कम्युनिस्ट पार्टी एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको छ । नेतृत्वका लागि हिजो भएको मतपरिणामबाट प्रत्याशी हरि रिजाललाई दुई मतले पराजित गर्दै अध्यक्षमा कँडेल विजयी हुनुभएको हो । निर्वाचन समितिका अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी हुनुभयो भने रुपन्देहीकै विश्वराज बराल ३ सय ६ मत पाएर पराजित हुनु भयो । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ,महिला उपसचिवमा लिला राना बिजयी हुनभयो । सचिवमा यस अघि नै लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भै सक्नु भएको थियो ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । एक हजार ५ मतदाता रहेको निर्वाचनमा ९ सय ६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २ सय ५ सदस्यीय रहेको छ । निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार विजयी उम्मेदवारहरुलाई आज बुधवार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको छ ।