फाइल तस्वीर

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै दायर रिटमा निवेदक र प्रत्यर्थीको तर्फबाट बहस सकिएको छ । आज बिहानदेखि सुरु भएको सुनुवाई साँझ साढे ५ बजेसम्म जारी रहेर प्रत्यर्थीको तर्फबाट बहस सकिएको हो । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पूर्व मुख्यमन्त्री तथा एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहाद्र कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री थापा लगायतविरुद्ध दायर गरेको रिट निवेदनमाथि सोमबार निवेदकका तर्फबाट बहस भएको थियो ।

आज मङ्गलबार बिहानदेखि सुरु भएको बहसमा खाजा समय अगाडि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, उपन्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेत, नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गर्नुभएको थियो । उहाँहरुले विश्वासको मत सम्बन्धमा मतदान हुँदा सभामुख र उपसभामुख दुवै नरहेको अवस्थामा बैठकमा उपस्थितमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेको र त्यसरी बैठकको अध्यक्षता गर्ने व्यक्ति सभामुख नरहेकै कारण दलको ह्वीपसमेत लाग्ने भएकाले संविधानको धारा १८८ बमोजिम विश्वासको मत दिन मिल्ने दाबी गर्नुभएको थियो ।

यस्तै खाजा समयपछि प्रत्यर्थीको तर्फबाट पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खाती, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरु गोविन्द बन्दी, शेर बहादुर केसी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, मुक्ति प्रधान, गोपलाकृष्ण घिमिरे, सुनिल पोखरेल, एगराज पोखरेल, डा. चन्द्रकान्त ज्ञवाली, ललित बस्नेत र दीपेन्द्र झाले बहस गर्नुभएको थियो ।

तीन जना न्यायाधीशहरु सपनाप्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी सुनुवाइमा यसअघि सोमबार निवेदकका तर्फबाट भएको बहसमा टीकाराम भट्टराई लगायतका कानुन व्यवसायीले समय सकिएको घण्टी बजिसकेपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भएको जिकिर गर्नुभएको थियो । त्यसपछि आज इजलासमा मतदानको दिनको भिडियो समेत हेरिएको थियो ।

पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि पुनःहेर्दाहेर्दैमा राखिएको छ । निवेदक र प्रत्यर्थीको बहस सकिएपछि आगामी बिहीबार जवाफी बहस हुने बताइएको छ ।