फाइल तस्वीर
काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेशसभाबाट लिएरको विश्वासको मतविरुद्ध सर्वोच्च अदातलमा परेको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाई हुँदैछ । उक्त प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभा बैठकबाट प्राप्त गर्नुभएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमाथि आज मङ्गलबार पनि पूर्ण इजलासमा सुनुवाई हुनलागेको हो ।

हिजो सोमबार पूर्ण इजलासमा सुनुवाई सुरु गरिएको उक्त रिट निवेदनमाथिको बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । आज मुख्यमन्त्री थापाको पक्षमा कानून व्यवसायीहरुले बहस गर्नुहुनेभएको छ ।

उक्त रिट निवेदनलाई अस्ति आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । उक्त आदेश पछि सो रिटमाथिको सुनुवाई पूर्ण इजलासमा बहस भैरहेको छ ।

सोही आदेशअनुसार हिजो सोमबारदेखि न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।

एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेशसभाको बैठकको अध्यक्षता गर्नुभएका प्रदेशसभा सदस्यले समेत मतदान गर्नुभएकोले मुख्यमन्त्री थापाले उक्त बैठकबाट लिनुभएको विश्वासको मत बदर गर्न माग गर्दै दायर रिटमा हिजो निवेदक पक्षले बहस सकिसकेको छ ।

पुर्वमुख्यमन्त्री कार्कीका तर्फबाट बहस गर्ने सबै कानूनव्यवसायीहरूले सभामुखै भएर बैठकको अध्यक्षता गर्नु र जेष्ठ सदस्यको हैसियतमा अध्यक्ष गर्नु समान भएको जिकिर गर्दै आफ्नो राय पेश गर्नुभएको थियो ।

हिजोको बहसमा कानून व्यवसायीहरुले मत बराबर भएको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले मत पाउने भए पनि त्यस्तो अवस्था नरहेको भन्दै संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार बनाउन माग गर्नुभएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीको पक्षबाट हिजो वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, कृष्णभक्त पोखरेल, सुरेन्द्र भण्डारी, राजेन्द्र घिमिरेलगायतले बहस गर्नुभएको थियो । आज विपक्षी मुख्यमन्त्री थापाको पक्षका कानूनव्यवसायीहरूले बहस गर्नुहुने छ । पूर्ण इजलासले आजै फैसला गर्न सक्ने स्रोतको दावी छ ।