तस्वीरमा: संसदीय दलका नेता बहादुर सिं लामालाई राजीनामा बुझाउँदै कुन्दनराज काफ्ले ।


हेटौंडा —नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । बागमती प्रदेशसभा सदस्य काफ्लेले आज मङ्गलबार बिहान काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

दोलखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित काफ्लेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महशुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताउनुभयो । प्रदेशसभा सदस्य काफ्लेले सचेतक पदबाट राजीनामा दिनुभएको कुरा सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो ।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउँदै दोलखाका नागरिकहरूको सेवामा समर्पित हुने बताउनुभएको छ ।

नेता काफ्लेले सामाजिक सञ्चालमा लेख्नुभएको छ — ’गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा काङ्ग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु । यस बिचमा सहयोग गर्नुहुने नेपाली काङ्ग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

गत पुसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा एमाले र राप्रपा सम्मिलित गठबन्धनको सरकार गठन पश्चात् प्रमुख प्रतिपक्ष दल काङ्ग्रेस संसदीय दलका नेता लामाले काफ्लेलाई दलको तर्फबाट प्रमुख सचेतकमा नियुक्त गर्नुभएको थियो । माओवादी, एमाले र राप्रपाबीचको सत्ता गठबन्धन भत्किएपछि बनेको नयाँ गठबन्धनले माओवादी केन्द्रका रत्नप्रसाद ढकालले प्रमुख सचेतकमा जिम्मेवारी लिएपछि काफ्ले सचेतक बन्नुभएको थियो । गठबन्धनमा प्रमुख सचेतकमा माओवादी केन्द्रबाट ढकाल र सचेतमा काङ्ग्रेसबाट काफ्लेलाई तोकिएको थियो ।