फाइल तस्वीर

काठमाडौँ –कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । हिजो सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेको र समय अभावका कारण ’हेर्दाहेर्दै’ मा राखिएसँगै आज मङ्गलबारबाट सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश अनुसार सोमबार सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको थियो ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि आजबाट सुनुवाइ हुनेछ ।