फाइल तस्वीर
बुटवल — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लुम्बिनी प्रदेश अधिवेशवेशनले नयाँ अध्यक्ष चयन गर्ने भएको छ । प्रदेशस्तरीय पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिनुभएको छ । वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले भावि नेतृत्वका लागि उम्मेदवारी दिनुभएको छ ।

नयाँ नेतृत्व सहमतिका आधारमा चयन गर्न खोजिएता पनि दुई पक्षबीच सहमति जुट्न सकेको छैन । यद्यपि सहमतिको विकल्प अझै नटुङ्गिएको नेताहरुले बताएका छन् । हिजो आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले आज सोमबार बिहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको थियो ।

आइतबार निर्वाचन प्रक्रिया अन्तर्गत मतदाताहरूको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएपछि थप प्रक्रिया स्थगित गरेको हो । आज बिहानैदेखि प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नामावली प्रकाशन, दावी विरोध, फिर्ता लगायतका काम गरिने निर्वाचन मण्डलले बताएको छ ।

दुवै जनाको उम्मेदवारी दर्ताले पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित देखिएको छन् । उक्त अधिवेशनमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट छानिएका प्रतिनिधि तथा विभिन्न जनसङ्गठनबाट छानिएका गरी कुल एक हजार जनाप्रतिनिधिहरुको सहभागी रहेको छ ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वकबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा १ हजार जना प्रतिनिधि छनोट भएको एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठुलो महत्त्व राख्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ । यद्यपि, अहिलेसम्म नेताहरुबीच सहमति जुट्न सकेको छैन । अध्यक्षमा उम्मेदवारी दिनुभएका कँडेल पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट र रिजाल महासचिव शङ्कर पोखरेल निकटका हुनुहुन्छ ।

लुम्बिनी प्रदेशमा एमालेमा देखिएको विभाजनले यस्तो प्रभाव अन्य प्रदेशमा पर्न सक्ने भएकाले अन्तिम समयसम्म सहमति जुटाएर अध्यक्ष चयन हुने सम्भावना पछि छ । त्यसोत कँडेलभन्दा रिजालको पल्लाभारी रहेको बताइएको छ । पार्टी अध्यक्ष ओलीसँग महासचिव पोखरेलको सम्बन्ध बलियो भएकाले पनि रिजालले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व गर्नसक्ने बलियो सम्भावना देखिएको छ ।