फाइल तस्वीर

काठमाडौँ — कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाका बारेमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनवाइ हुन लागेको हो ।

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार आज सोमबारबाट पूर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो । पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।

मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै पूर्व मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिट गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै हिजो आइतबारका लागि सुनवाइ तोकिएको थियो ।
रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुङ्ग्याउने गरी आदेश दिनुभएको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ ।