फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती ।


विराटनगर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्न लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल मोरङले आज आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले पहाड र दुर्गम क्षेत्रका जनतासम्म हवाई यातायातको सहज पहुँच पुर्याउन तीन वटा साना जहाज खरिद प्रक्रिया अघि बढिसकेको बताउनुभएको हो ।

मन्त्री किरातीले भन्नुभयो — ‘पहाडी तथा दुर्गम जिल्लामा व्यावसायिक उडानका लागि तीन वटा जहाज खरिद गर्न लागिएको छ ।’ मन्त्री किरातीले अर्बौँको लागतमा निमार्ण भएका विमानस्थल अझै पनि उपयोग विहीन अवस्थामा रहेको उल्लेख गर्दै अब सरकारले आवश्यकताको आधारमा विमानस्थल निर्माण गर्ने समेत बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण, ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी प्रकरण तथा सुनकाण्ड जस्ता विषय उजागर गरेर दोषीलाई कारबाही गर्ने काम सरकारले गरिरहेको भन्नुहुँदै मन्त्री किरातीले गलत गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने दावी गर्नुभयो ।

मन्त्री किरातीले नेपाली जनताको घरदैलोमा पुगेर सरकारले गरेका राम्रा कामबारे जानकारी गराउँदै नागरिकको आवश्यकता र चाहना बुझ्न नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियान शुरु गरेको प्रष्ट पार्नुभयो ।