फाइल तस्वीर


काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नका लागि २३ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

नेपालले म्यानमारसँग यही भदौ २२ र २५ गते दुई पटक मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त मैत्रीपूर्णखेल म्यानरमारमै हुनेछ । मैत्रीपूर्ण खेलका लागि छनोट भएका २३ जना खेलाडीहरुमा नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपरमा किरणकुमार लिम्बूका साथै अभिषेक बराल र दिप कार्की तोकिनुभएको छ ।

यसैगरी रक्षा पङ्तिमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई रहेका छन् भने मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राईलाई जिम्मा दिइने छ । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहनुभएको छ ।