फाइल तस्वीर
काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लिएको विश्वासको मतविरुद्ध परेको रिटको अन्तिम सुनुवाई सर्वोच्च अदालतको पूर्ण इजलासले निर्णय गर्नेभएको छ । मुख्यमन्त्री थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी भोलि सोमबारदेखि सुनुवाइ हुनेभएको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराउनुभएको उक्त रिट निवदेशको सुनुवाइका लागि अघिल्लो हप्ता न्यायाधीश द्वयः ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि न्यायाधीश खतिवडाले उक्त रिट हेर्न नमानेपछि आज आइतबारका लागि पेशी तोकिएको हो । उक्त रिटको सुनुवाइ गर्न आज आइतबार न्यायाधीश सपना प्रधानमल्ल र सुष्मलता माथेमाको इजलासमा पेशी तोकिए थियो ।

नेकपा एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते नेपाली काङग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका गराउनुभएको थियो । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दावी रिट निवेदनमा उल्लेख गरिएको छ ।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले थापालाई काम चलाउ मुख्यमन्त्रीका रुपमा मात्रै काम गर्न आदेश दिएको थियो । काम चलाउ सरकार भएका कारण थापा नेतृत्वको सरकारले कोशी प्रदेशमा कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउँदा कोशी प्रदेशमा बजेटपास भएको छैन ।