फाइल तस्वीर
ताप्लेजुङ — ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ ।

आज पहिलो चरणका खेल सकिएसँगै सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । यसअघि शनिबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० ले पराजित गर्दै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि मोरङका दीपक राईले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्नुभएको थियो भने दोस्रो हाफको ४५औँ मिनेटमा नीरज परियारले दोस्रो गोल गर्नुभएको थियो । प्रतियोगिताको पहिलो दिन घरेलु टोली मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ भने शुक्रबार इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

रेडहर्ष दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २‐० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।