फाइल तस्वीर
काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ विकेट लिइन् । यस्तै कप्तान रुविना क्षेत्री बेलबासे, खुशी डङ्गोल र कविता कुँवरले समान एक–एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो ।

नेपालले चौथो खेल भोलि कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार रहेका छन् ।