फाइल तस्वीर

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत प्रतियोगितामा विजय सुरुवात गरेको नेपालले आज शुक्रबार दोस्रो खेलमा बहराइनसँग भिड्दै छ ।

खेल नेपाली समय अनुसार आज शुक्रबार बिहान ११ः१५ बजे मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ ।

आजको खेल जित्ने दाउमा रहेको नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यस्तै, पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा रहने छ ।

नेपालले आगामी आइतबार भुटानसँग खेल्नेछ भने मङ्गलबार कतार र बुधबार यूएईसँग खेल्ने कार्यतालिका रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ भने सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।