फाइल तस्वीरः सिन्धुपाल्चोकस्थित चीनसँग जोडीएको तातोपानी नाका ।

काठमाडौं — सिन्धुपाल्चोकसँग जोडीएको चीनसँगको तातोपानी नाका आजदेखि खुल्ने भएको छ । झण्डै आठ वर्षदेखि बन्दभएको उत्तरी नाका तातोपानी नाका मानिस आउनेजाने गरी खुला गरिएको हो ।

आजदेखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको महावाणिज्यदूत ढकालले बताउनुभयो । समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

वि सं. २०७२ साल बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि लगातारका परकम्पनले क्षत विक्षत भएको तातोपानी नाका बन्द प्रायः थियो । त्यसपछि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण उक्त नाका पूर्णरुपमा बन्द रहँदै आएकोमा आजदेखि पुनः सञ्चालनमा आउन लागेको हो ।

तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्न लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले आज शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने भएका छन् ।

तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि शुक्रबारदेखि नाका खुलाको तयारी सकिएको छ । उक्त नाका खोलिएता पनि खासा बजारसम्म जाने अनुमति छैन । मितेरी पुल पारीको चिनियाँ बजारसम्म जानपाउने गरी अध्यागमन कार्यालयले पास उपलब्ध गराएको छ ।

२०७२ सालको महाभूकम्पका कारण पूर्णरुपमा बन्द भएको तातोपानी नाका नेपाल र चीन दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि २०७६ साल जेठमा वस्तु आयात निर्यात गर्न सुरुभएको थियो । तर, विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले २०७६ उक्त नाका पुनः बन्द भएको थियो । लामो समयदेखि बन्द भएको उक्त नाका आजदेखि मानव आवत जावतका लागि खुलेको छ ।