तस्वीर : एएफपी


काठमाडौँ — एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्ध भैरहेको आजको खेलमा उत्कष्ट सुरुवात गरेको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १० ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान क्रिजमा रहेका छन् । पाकिस्तानले दुवै ओपनर गुमाएको हो । अहिले पाकिस्तानले २३ दशमलब ४ ओभरका दुई विकेटको क्षतिमा १११ रन बनाएको छ । नेपालका लागि करण केसीले पाकिस्तानको विकेट लिनुभयो । पाकिस्तानका फखार जमान १४ रनमा आउट हुनुभयो । इमाम उल हक पाँच र मोहम्मद रिजवान ४४ रन जोड्दै रन आउट हुनुभयो ।

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाउनुभएको छ । रोहितले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराउनुभएको छ । इमाम पाँच रन बनाएर पेभिलियन फर्किन बाध्यहुनुभयो । त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाउनुभयो ।

पहिलो पटक पाकिस्तानसँग खेलेको नेपाल आज ऐतिहासिक जित निकाल्ने दाउमा छ । यता पाकिस्तान पनि नेपाललाई पन्छाउँदै सेमिफाइनलको यात्राको सपना बुन्दैछ ।

नेपालले बुधबार समूहको पहिलो खेल पाकिस्तानसँग खेलेपछि अर्को खेल आगामी सोमबार १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल श्रीलङ्कामा हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन् ।

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्ने छन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।