काठमाडौँ — राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उहाँको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् ।
नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका योद्धा, प्रेस स्वतन्त्रता सेनानी उनै नेपाली अब भौतिकरुपमा यस धरामा उपस्थित रहनुभएन । विसं २००२ भदौ १९ गते धनुषाको बेला (हाल जनकपुरधाम उपमहानगरपालिका–२३) मा जन्मनुभएका नेपालीले ७८ वर्षको उमेरमा विसं २०८० भदौ ११ गते राति देहत्याग गर्नुभयो । विगत १४ महिनादेखि बिरामीका कारण ओछ्यान पर्नुभएका नेपालीको त्यसअघि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भए पनि निको हुन सक्नुभएको थिएन ।
विसं २०१८ मङ्सिर २६ गतेदेखि नेपाल सन्देश पत्रिकामा समाचार लेखेर पत्रकारिता प्रारम्भ गर्नुभएका नेपाली त्यसयता निरन्तर पत्रकारितामै समर्पित रहनुभयो । पत्रकारितालाई नै आफ्नो मूल धर्म, पेशा र व्यवसाय ठान्ने नेपालीजस्तो समर्पित पत्रकार बिरलै मात्र पाउन सकिन्छ । उहाँका बारेमा जतिसुकै लेखे पनि जे लेखे पनि थोरै नै हुन्छ ।
आदरणीय नेपालीजीलाई, जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा जहिले म प्रविणता प्रमाणपत्र तह (विसं २०४२÷४४) को विद्यार्थी थिएँ त्यसबेलादेखि नै चिन्दछु । त्यसपछि निरन्तर उहाँको सम्पर्कमा छु । यस दृष्टिले हेर्ने हो भने उहाँसँग म प्रत्यक्षरुपले ३७÷३८ वर्षदेखि परिचित छु । परिचय प्रारम्भको त्यो समय मेरो पत्रकारिता जीवनको अत्यन्त प्रारम्भिक समय थियो भने नेपाली त्यसै बखत सुविख्यात भइसक्नुभएको थियो । त्यो समय सायद उहाँको पत्रकारिताको उत्कर्षको समय थियो भनेर भनियो भने अनुचित हुने छैन ।
वि.सं २०४४ को कुनै समयमा म पत्रकारितासँग आवद्ध हुन पुगेको थिएँ । त्यसपछि नेपालीजीसँग औपचारिकरूपमा भेट गर्ने क्रमले तीव्रता पाएको म सम्झन्छु । एक दृष्टिले भन्ने हो भने नेपालीजी पत्रकारिता क्षेत्रमा मेरा एक ‘रोल मोडल’ हुनुहुन्थ्यो । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि मैले उहाँका बारेमा धेरै कुरा सुनेको थिएँ । पछि त निरन्तर भेट भइरह्यो र उहाँबारे सुनेका कुराको सत्यापन गर्ने अवसर मैले पाइरहेँ । तर दुःखका साथ भन्नुपर्छ, मैले अन्तिम समयमा उहाँलाई भेट्न पाइन । आज भोलि भन्दाभन्दै दिनहरु बिते र उहाँ पनि बित्नुभयो ।
निश्चय हो, उहाँको योगदानहरुले कहीँ न कहीँ मलाई प्रभावित बनाएको थियो । यो प्रभावले पनि पत्रकारितामा प्रवेश गर्नका लागि मलाई प्रोत्साहित गरेको थियो भनियो भने त्यो अन्यथा हुने छैन । उहाँ मेरै गृहनगर अर्थात जनकपुरसँग जोडिएको हुनुहुन्थ्यो । त्यसैले पनि मलाई उहाँको सान्निध्य प्राप्त गर्न सहज थियो । यसअर्थमा मैले आफूलाई भाग्यशाली नै ठान्नुपर्छ । म जनकपुरमै रहेर २०४४ देखि २०५२ सम्म पत्रकारितामा सक्रिय रहेँ । त्योे समय उहाँसँग प्रत्येक दिनजसो भेट हुन्थ्यो ।
अधिकांशतः जनकचोकस्थित दीपनारायणजीको पत्रिका पसलमा साइकल सवार नेपालीजीसँग मेरो भेट हुने गर्दथ्यो । त्यहाँ भेट नभएको अवस्थामा जानकी मन्दिरको प्राङ्गण हाम्रो भेटघाटको अर्को निश्चित स्थान थियो । भेटका क्रममा अनेक कुरा हुन्थे । केही राजनीतिका, केही साहित्यका र केही पत्रकारिताका । हामीबीचका ती कुराकानीले निश्चय पनि मलाई मार्गदर्शन र प्रोत्साहन प्राप्त हुने गर्दथ्यो ।
वि.सं २०५२ मा म पेशा र रोजगारीका क्रममा काठमाडौं आएँ । त्यसपछि मेरा अधिकांश समय यहीँ बित्न थाले । स्वभाविकरूपमा उहाँँसँगको प्रत्यक्ष भेटघाटको क्रम पनि पातलो हुन थाल्यो । तर अप्रत्यक्षरूपमा हामी सधँै नै सम्पर्कमा थियौँ । उहाँसँगको सान्निध्यका आधारमा म यति कुरा दाबीका साथ भन्न सक्छु कि नेपालीजी पत्रकार, साहित्यकार र राजनीतिकर्मीभन्दा बढी एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।
उहाँसँगको मेरो सम्बन्ध पत्रकारिता मात्रको थिएन । उहाँसँग साहित्य र राजनीतिकरुपमा पनि सम्बन्धित थिएँ र छु भन्न पाउँदा गौरवबोध हुनु मेरा लागि अत्यन्त स्वभाविक छ । यी तीनवटै सम्बन्धका आधारमा सम्बन्धहरुको विश्लेषण गर्ने प्रयास गरिएमा म निःसङ्कोच भन्न सक्छु, नेपालीजी मेरा आदरणीय अभिभावक त हुनुहुन्थ्यो नै सँगसँगै प्रेरणाको एक स्रोत पनि हुनुहुन्थ्यो । मैले माथि पनि उल्लेख गरिसकेँ, नेपालीजीसँग म अत्यधिक प्रभावित थिएँ । उहाँसँग सम्बन्धित अनेक स्मृति मेरो मानसपटलमा अहिले पनि ताजै रहेको अनुभुति छ । तर ती सबै स्मृतिहरु यहाँ अभिव्यक्त गर्नु सहज र सम्भव छैन ।
उहाँसँग म प्रभावित हुनुपर्ने अनेक कारण छन् । म उहाँको सादगीपूर्ण जीवन र पत्रकारिताप्रतिको अविभाज्य समर्पणबाट प्रभावित छु । मधेशबाट पत्रकारिता गर्ने र पत्रकारिताकै माध्यमबाट मिशनको दायित्वसँगै जीवन निर्वाहको प्रयत्न गर्नेहरुमध्ये नेपालीजी पहिलो पुस्ताको प्रखर र सशक्त पत्रकार हुनुहुन्थ्यो । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा उहाँको योगदान अत्यन्त महत्वपूर्ण छ । र, सबैभन्दा महत्वपूर्ण कुरा त के भने उहाँको योगदानलाई देश र समाजले स्वीकार गरेको छ ।
मूलतः जनकपुरको माटोमा रमेर भिजेर पत्रकारिता गर्ने नेपालीजीको योगदानको चर्चा जनकपुर, मिथिला र मधेशमा मात्र सीमित छैन । बरु सम्पूर्ण नेपालमा र विदेशमा पनि बडो आदरपूर्वक ‘नेपालीजी’ का रूपमा उहाँ चिनिनु हुन्छ । धेरैलाई उहाँको पूर्ण र वास्तविक नामबारे जानकारी नहुन सक्छ । तर राजेश्वर नेपाली ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र नेपालभन्दा बाहिर पनि चिनिनु हुन्छ । उहाँ सबै समाजमा सर्वस्वीकृत हुनुहुन्थ्यो, रहिरहनु हुनेछ । त्यसो त उहँको रुची साहित्य र राजनीतिमा पनि थियो । तर उहाँ बढी चिनिनुभयो पत्रकारिताकै क्षेत्रमा र पत्रकारकै रुपमा ।
नेपाली, मैथिली र हिन्दी भाषामा समान अधिकार राख्नुहुने नेपालीजी यी तीनै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील रहनुभयो । तीन भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत)का स्रष्टा हुनुहुन्छ उहाँ । यतिमात्र होइन, उहाँको परिचय लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा भएका आन्दोलनको एक अविश्रान्त योद्धाका रुपमा पनि छ ।
पत्रकार जगतले उहाँको योगदान स्वीकार गर्यो र केही थान सम्मान तथा पुरस्कार अर्पण गर्यो तर राज्य र सरकारले भने उहाँलाई सँधै उपेक्षा नै दियो । उहाँ अस्वस्थ भएर घरको ओछ्यानमा अचेत पल्टिइरहँदा कुनै पनि तहको सरकारको ध्यान उहाँतर्फ आकृष्ट हुन सकेन । राजनीतिसँग नजिकको साइनो भएकाहरु सहज र सुविधाजनक उपचार प्राप्त गर्न सक्षम भइरहेको नेपालको परिदृश्यमा सायद नेपालीजी ओझेल पर्नुभयो । राज्यले उहाँलाई देख्नै सकेन । राज्यका निकायहरुको उपचारमा आवश्यक ध्यान पुग्न सकेको भए सम्भव थियो उहाँको आयु लम्बिन सक्थ्यो ।
महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित नेपालीजी सच्चा गान्धीवादीका रूपमा पनि चिनिनु हुन्छ । यही प्रभावबाट उहाँ समाज र राजनीतिमा पनि निर्देशित हुनुहुन्थ्यो । राजनीतिमा पनि उहाँको फरक परिचय थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनहरुबाटै सक्रिय रहनु भएका नेपालीजी प्रखर लोकतन्त्रवादी हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा अनेकौंपटक प्रशासनको कुदृष्टिको शिकार बन्नु भएका नेपालीजी आफ्नो लोकतान्त्रिक मूल्य–मान्यताका विरुद्ध कहिल्यै पनि सम्झौता गर्नु भएन । जीवनभरि उहाँ आफ्नो राजनीतिक मूल्य, मान्यता, आस्था र विचारप्रति दृढ रहनुभयो ।
नेपालीजीलाई म मधेश–मिथिला ‘इन्साइक्लोपिडिया (विश्वकोष)’ का रूपमा पनि चिन्दथे । मधेश, मिथिला र नेपाली राजनीतिसँग सम्बन्धित अनेक जानकारीका विशाल संग्रह थियो उहाँसँग । उहाँको देहावसानपछि जानकारीका यी सङ्ग्रहको संरक्षणबारे पनि सोचिनु जरुरी छ । त्यसो त उहाँका सुपुत्र राघवेन्द्रमाथि पनि पिताको कर्मको यथेष्ट प्रभाव परेका कारण यी जानकारीले उहाँको संरक्षकत्व प्राप्त गर्ने कुरामा विमति हुन सक्दैन । यस्ता अनेक जानकारी थिए जो नेपालीजीलाई कण्ठस्थ नै थियो ।
औपचारिक जानकारीको आधिकारिक सङ्ग्रहको विशाल अभिलेखीकरणको भण्डारको निर्माण गर्नु भएको थियो उहाँले । चाहे त्यो राजनीति होस चाहे साहित्य अथवा पत्रकारिता, सबैको जीवित दस्तावेज र ‘इन्साइक्लोपिडिया’को परिचय बनाउनुभएको थियो नेपालीजीले । यतिमत्र होइन, समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि उहाँ अजस्र स्रोत हुनुहुन्थ्यो । उहाँ र उहाँको परिवारसँग रहेका यस्ता जानकारी अनेक अनुसन्धानकर्मीका लागि महत्वपूर्ण स्रोत सामग्री हुन सक्छन् ।
मेरो प्रस्ताव छ, उहाँको देहावसानपछि उहाँको घर परिवारमा रहेका यी अजस्र जानकारी सङ्ग्रहको संरक्षण कार्य परिवारका सदस्यमात्रको भरमा कठीन हुन सक्छ । यस्तोमा राज्यले पहल गर्नु अपेक्षित छ । अब यी सामग्रीको संरक्षणमा राज्यले दायित्व निर्वाह गर्नु अपरिहार्य छ । यसो गर्न सके निश्चय पनि भावी पुस्ता लाभान्वित हुन सक्नेछन् र सायद उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने एक उपयुक्त तरिका पनि हुन सक्छ यो प्रक्रिया ।