फाइल तस्वीर

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज सोमबार पाकिस्तान जाँदैछन् । सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार उनी बिहान ११ः२० मा दोहा हुँदै मुल्तान पुग्ने कार्यतालिका छ । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको क्यानले जनाएको छ । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेसँगै उनी पाकिस्तान जाने बाटो खुलेको थियो ।

एसिया कपमा सहभागी हुन नेपाली टोली गत मङ्गलबार नै पाकिस्तान गए पनि सन्दीप भने मुद्दाको पेशीका कारण गएका थिएनन् । एसिया कपमा समूह ‘ए’मा छनोट भएको नेपालले पर्सी १३ गते बुधबार पाकिस्तानसँग मुल्तानमा र आगामी सोमबार १८ गते श्रीलङ्काको क्यान्डीमा खेल्नेछ ।