फाइल तस्वीर
काठमाडौँ — यस वर्षको विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । विष्णु–नाति फोटो पत्रकारिता सिरपाः गुथिद्वारा आज राजधानी आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनले फोटो पत्रकार श्रेष्ठलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

फोटो पत्रकारिताको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभएका वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जनले आफ्नी धर्मपत्नी विष्णुदेवी महर्जनसमेतको नाममा यो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी, मन्त्री महर्जनले नेवाः संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विसं २०६४ देखि धिमे बाजा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका सुनिता महर्जनलाई पनि सम्मान गर्नुभयो ।

सो कार्यक्रममा मन्त्री महर्जनले समाजलाई रुपान्तरण गर्ने कार्यमा फोटो पत्रकारको अहं भूमिका रहने उल्लेख गर्दै फोटो पत्रकारिताको क्षेत्रलाई राज्यले पनि सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सिरपाः गुथिका संस्थापक नातिकाजी महर्जनले संस्कृतिको जगेर्ना गर्न सकिए मात्र देश बच्ने भएकाले संस्कृतिको क्षेत्रमा समर्पित फोटो पत्रकारलाई प्रोत्साहन गर्न थोरै रकमको भएपनि पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो । रासस