तस्वीरः दुर्घटनाग्रस्थ ओस्प्रे सैन्य विमान ।
सिड्नी — अमेरिकाको ओस्प्रे सैन्य विमान दुर्घटनामा परेको छ । उक्त सैन्य विमान युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल दुर्गम टापुमा दुर्घटना भएको हो ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेकोे जनाएको छ । विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी सुरक्षा निकायका २० जना सदस्य थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ ।

संयुक्त युद्धअभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।