प्रतिकात्मक तस्वीर
काठमाडौँ — अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिनी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी रु आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।