फाइल तस्वीरः सर्वोच्च अदालत ।
काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज बिहीबार सुनुवाई हुँदैछ । मुख्यमन्त्री थापाले असंवैधानिक अथकण्डा अपनाएर प्रदेशसभा बैठकबाट विश्वासको मत लिएको भन्दै सोविरुद्ध एमालेले हिजो बुधबार दर्ता गराएको रिटको सुनुवाई हुने भएको हो ।

एमालेद्वारा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमुख्यमन्त्री एवम् कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाद्वारा लिइएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता फेरबदल गरी क्रमैसँग अध्यक्षता ग्रहण गरेका दुवै जनाले पालैपालो मतदान गरेपछि सोविरुद्ध एमालेले अदालतमा रिट दायर गरेको हो । रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गर्नुभएको छ ।

कोशी प्रदेशसभामा ९३ प्रदेशसभा सदस्य रहेका छन् । कोशीमा कुनै पनि दलको बहुमत छैन । उक्त प्रदेशको सबैभन्दा ठूलो दल एमाले हो । उसको ४० सांसद् रहेका छन् । यसैगरी दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसको २९ जना नेकपा माओवादी केन्द्रको १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ जना नेकपा एकीकृत समाजवादीको ४ जना, र जनता समाजवादी पार्टीको १ जना सांसद छन् । सत्ता पक्षमा ४७ जना र विपक्षमा एमाले राप्रपा गरी ४६ जना सांसद् रहेका छन् ।