साङ्केतिक तस्वीर
बारा — बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी छ जनाको ज्यान गएको छ । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।