फाइल तस्वीर
विराटनगर — कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।

आजको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफल हुने कार्यसूची रहेको थियो ।

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक केही समय ढिला गरी सञ्चालन हुने क्रममा विरोध सुरु भएपछि सभामुख मन्सुरीले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो । यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ ।