फाइल तस्वीर
काठमाडौ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । आज बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।

चार देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । पहिलो ब्याटिङ्ग गरेको नेपालले दिएको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमै समेटिन पुगेको थियो । कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिईन् । इन्दुले ४ ओभरमा १५ रन खर्चिईन् ।

खुसी डङ्गोलले दुई विकेट झारिन् । राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर डङ्गोलले डेब्यु खेलमा नै विकेट लिन सफल भइन । यसैगरी कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले पनि आफ्नो नाममा एक एक विकेट दर्ता गर्न सफल भए । जिफा जिलानीले ११ र खादिजा खलीले बनाएको १० रन नै कुवेतका लागि सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर बनाउन चुके ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो । बायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल व्याटिङ गर्न तयार भयो ।

यद्यपि, कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न भने सकेका थिएनन् । नेपालका लागि इन्दु वर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो । इन्दुले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाउँदा क्याच आउट भइन भने बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे । अन्य ब्याटरले दोहोरो को स्कोर छुन सकेनन्।

कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिन सफल भइन । मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले समान एक विकेट लिएका थिए ।

नेपालको लगातार दोस्रो जितसँगै ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ। नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन् । पुछारका दुई टोलीले भने तेस्रो र चांैथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।