फाइल तस्वीर
विराटनगर — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरित विश्वासको मत दिएको भन्दै बैठक बहिस्कार गरेका हुन् । एमाले र राप्रपाको बहिष्कारका कारण कोशी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

बैठक सुरुभएलगतै प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै त्यसको विरोध गर्नुभएको थियो । बैठकमा सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी भएको थियो । त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर सभाहलबाट बाहिर निस्किएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।