फाइल तस्वीर
काठमाडौँ — मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र यतिबेला नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले त्यसको प्रभाव परेको वर्षाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुनुको साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।