फाइल तस्वीर
काठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले पराजित गरेको हो ।

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान दिइन् । उनले पाँच चौका प्रहार गरिन । त्यस्तै पूजा महतोले १६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले १०, इन्दु बर्माले नौ तथा सीता रानामगरले तीन रन जोडिन् ।

हङकङका लागि बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मर्याम बिबी र क्यारी चानले समान एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तोे पाएको हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो । हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रनको योगदान दिइन् भने डोरोथिया चानले १६ रन बनाइन् ।

ओपनरद्वय यस्मिन दस्वानी र मारिको हिलले समान छ–छ रन बनाइन् भने मार्याम बिबीले नौ रन जोडिन् । त्यसैगरी ही यिङ चिउङले चार, सन्जिन सहजादले दुई तथा रुचिथा बेङ्कटेसले एक रन बनाइन् । मे वाई सू दुई रनमा अविजित रहिन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सीताराना मगर एक्लैले पाँच विकेट लिइन् । त्यसैगरी इन्दु बर्माले दुई विकेट लिँदा रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान एक–एक विकेट लिए ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत छन् । यही अगस्ट ३१ तरिखदेखि ९ सेप्टेम्बरसम्म मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी–२० सिरिज सञ्चालन भएको हो । नेपालले आफ्नो दोस्रो खेल भोलि कुवेतसँग खेल्नेछ ।