तस्वीर: मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश ।
विराटनगर — कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले संसदीय संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चाल्नुभएको आरोप लागको छ । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

कोशी प्रदेश सरकारले आज प्रदेशसभको बैठकबाट विश्वासको मत लिने कार्यक्रम अन्योल भएको छ । मुख्यमन्त्री उद्धव थापाले आजै प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम रहेकोमा उपसभामुखको अनुपस्थितिका कारण विश्वासको मत लिने कार्यक्रम टरेको छ ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत लिने समय टरेको जानकारी गराउनुभयो । ‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर आफु उपस्थित हुन नसक्ने जानकारी दिनुभयो,’ सञ्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री थापाले भन्नुभयो ।

मुख्यमन्त्री थापाले ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्ने छ । आजै विश्वासको मत लिने सम्भावना कम छ । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ’— भन्नुभयो । यद्यपि, कार्य व्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने मुख्यमन्त्री थापाको भनाई थियो ।

मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री थापाले भदौ १० गते आईतबारसम्ममा प्रदेशसभाको बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने छ । सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको उल्लेख गर्नुहुँदै निर्धारित समयमै आफुले विश्वासको मत पाउने दावी गर्नुभएको छ ।

एमालेको व्यवहारप्रति असन्तुष्टि प्रकट गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो —‘ एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने, काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैँले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?’