साङ्केतिक तस्वीर
तुलसीपुर — लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने भएको छ । अघिल्ला आर्थिक वर्षहरुमाभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो ।
“हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उहाँका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६० करोड ९५ हजार रुपैयाँ आम्दानी भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५० दशमलव १७ प्रतिशत हो । चालु आव २०८०/०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर छ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।
लामो समय नवीकरण नगरेका सवारी साधनलाई कर छुट गरेर भए पनि करको दायरामा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसबाट सवा एक अर्बले राजस्व वुद्धि हुने अपेक्षा गरिएको मन्त्री मास्कीले बताउनुभयो ।
वन क्षेत्रको खोलाखोल्सी व्यवस्थापनबाट ७५ लाख क्युविकफिट वन पैदवार र नदीजन्य पदार्थ सङ्कलन गरी साढे एक अर्ब रुपैयाँले आम्दानी वृद्धी हुने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँका अनुसार गत आवमा वनबाट चौध करोड ६० लाख रुपैयाँ र सवारीसाधनबाट एक अर्ब ५५ करोड रुपैयाँमात्रै आम्दानी भएको थियो ।
अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शुल्क, विज्ञापन, मनोरञ्जन तथा कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण व्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसायसम्बन्धी विशेष व्यवस्थापनलगायत क्षेत्रबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको छ ।
करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ ।