फाइल तस्वीरः काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।
दमक — सत्तारुढ नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍यउने भ्रष्टचारसहितका सबै प्रकरणका फाइलहरु खुल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्नुहँुदै महामन्त्री थापाले भ्रष्टाचारसम्बन्धी सबै किसिमका फाइलहरु खुल्नुपर्ने जिकिर गर्नुभएको हो ।

महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानविनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको उल्लेख गर्नुहुँदै भ्रष्टाचारका सबै किसिमका फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तिव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

“विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानविन गरी दण्डित गरिनुपर्छ”, भन्नुहुँदै नेता थापाले चुनौतीलाई अवसरका रुपमा बदल्न काङ्ग्रेसले अगुवाइ गर्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले भन्नुभयो– “२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।”

केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उहाँले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्नथालेका टिप्पणी गर्नुभयो । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।