फाइल तस्वीर
काठमाडौँ — राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल वायुसेवा निगमको यो ११ औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य निश्चित भएको छ । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार निगमले काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा बुधबार र शनिबार गरी साताको दुई दिन उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

हाललाई निगमले काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर प्रतियात्रु ३५ हजार रुपैयाँ तोकेको छ । यसैगरी दमामबाट काठमाडौँका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । यस उडान सेवा विस्तारले नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने निगमले विश्वास गरेको छ ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत विभिन्न आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ । निगमले आगामी दिनमा अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै जाने जनाएको छ ।