फाइल तस्वीर
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गर्दा भण्डै छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा ३५ अर्ब १७ करोड ९० लाख रुपैयाँ बराबरको बजेट खर्च गरेको छ भने सोही अवधिमा ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ, पूँजीगततर्फ चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।

साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख रुपैयाँ बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन ।