फाइल तस्वीर
काठमाडौँ — नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८१ को तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणअनुसार कूल ५५ खर्ब १८ अर्ब १९ करोड रुपैयाँको तरलता प्रवाह भएको हो ।

राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत् चार खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिदमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत् २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २२ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ गरी कूल ५५ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर एक खर्ब आठ अर्ब २० करोडरुपैयाँ तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड रुपैयाँ र निक्षेप सङ्कलन बोलकबोलमार्फत् २० अर्ब रुपैयाँ गरी कूल एक खर्ब आठ अर्ब २० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको उल्लेख छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी सात खर्ब १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी पाँच खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी पाँच खर्ब ९५ अर्ब २३ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।