फाइल तस्वीर
काठमाडौँ — बाणिज्य बैंकहरुले भोलि भदौ १ गतेदेखि लागूगर्ने गरी नयाँ ब्याजदर तोकेका छन् । खुल्ला नीति अनुरुप वाणिज्य बैंकहरु आर्थिक वर्ष सुरुमै दोस्रो महिनादेखि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

भोलिदेखि लागूहुनेगरी अधिकांश बाणिज्य बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९ दशमलव ९८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकहरुले भदौ महिनाका लागि बैंकहरुले १० दशमलव ८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर निर्धारण गरेको देखिन्छ ।

बाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, र कुमारी बैंकले १० दशमलव ८९६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यसैगरी नबिल बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, प्रभू बैंक र प्राइम कमर्सियल बैंकले भने क्रमशः १० दशमलव ५० प्रतिशतदेखि १० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यता राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंक भने ९ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि बैंकहरुले साउन महिनामा निक्षेपमा ७ प्रतिशतदेखि ९ दशमलव ९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने नीति अनुरुप बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् ।