फाइल तस्वीर

काठमाडौं — नेपाली बजारमा चिनीको मूल्य बृद्धि भएको छ । चाडबाड नजिकिएसँगै चिनीको मूल्यमा बृद्धि भएको हो ।

अहिले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म रहेको छ । जबकी छिमेकी देश भारतमा चिनीको खुद्रामूल्य प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँ रहेको छ । नेपालमा निजी क्षेत्रले उत्पादन गरेकोे चिनीको मूल्य धेरै महङ्गो रहेको उपभोक्ताहरुको भनाइ छ ।

सरकारले निजी क्षेत्रका चिनीमिलहरुको उत्पादनलाई प्रोत्साहन गर्नेभन्दा पनि उपभोक्तामार नीति लिएकोले उपभोक्ताहरुले चर्को मूल्यमा चिनी उपभोग गर्न बाध्य छन् ।

विगतमा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी खरिद र विक्री गर्दै आएकोमा विगत तीन वर्षदेखि कर्पोरेशनले भारतबाट चिनी आयात गर्न पाएको छैन । तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको पालादेखि कर्पोरेशनलाई भारतबाट चिनी आयात गर्न रोकिएको हो । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई भारतबाट चिनी आयात गर्न दिंदा नेपाली बजारमा चिनीको मूल्य केही सस्तो रहेको उपभोक्ताहरुको बुझाई छ ।

अहिले पनि साल्ट ट्रेडिङ कर्पोरेशनले सीमितमात्रामा स्थानीय उत्पादन खरिद गरेर विक्री गर्दै आएको छ । कर्पोरेशनले कालिमाटीस्थित आफ्नो विक्री कक्षबाट अहिले पनि चिनी प्रतिकिलो ९७ रुपैयाँमा विक्री गर्दै आएको छ । जबकी बजारमा प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म रहेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई चिनी आयात गर्न दिने हो भने उपभोक्ताहरुले विगतमा जस्तै सस्तो मूल्यमा चिनी उपभोग गर्न पाउने देखिन्छ ।

चिनी आयात गर्नका लागि पटक पटक मन्त्रालयसँग आग्रह गर्दैआएको तर आयातको लागि स्वीकृत प्राप्त हुन नसकेको कर्पोरेशनको भनाई छ । कर्पोरेशनले चिनी आयात गर्न पाए बजारमा निजी क्षेत्रका व्यापारीहरुको एकाधिकार र काल्टेलिङ हुनसक्ने सम्भावनाको पनि अन्त्य हुने देखिन्छ ।