फाइल तस्वीर

अफ्रिका — पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।

करिब १०० जना सवार उक्त डुङ्गामा अधिकांश सेनेगल र सियरा लियोनका बासिन्दा रहेका र उनीहरु एक महिनादेखि समुद्र यात्रा गरिरहेको बताइएको छ ।

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपी समाचार एजेन्सीलाई बताएअनुसार जहाज पहिलोपटक सोमबार देखिएको र प्रारम्भिक रिपोर्टहरूले डुङ्गा डुबेको देखाएका छन् ।
सेनेगलको विदेश मन्त्रालयले मङ्गलबार ढिला जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ । एजेन्सी