फाइल तस्वीर
नयाँदिल्ली — पूर्वप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता अटल बिहारी वाजपेयीको पाँचौँ पुण्यतिथिका अवसरमा आज नयाँदिल्लीस्थित ‘सदैव अटल’ स्मारकमा एक स्मृतिसभा आयोजना गरिएको छ । त्यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी उपराष्ट्रपति जगदीप धनकर, गृहमन्त्री अमित शाह र केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित नेता वाजपेयीको स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

भाजपाले पहिलोपटक राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का साझेदारहरूलाई पनि अटल स्मारकमा आयोजित श्रद्धाञ्जलीसभामा आमन्त्रण गरेर नेता वाजपेयीले देखाउनुभएको एकता र सद्भावको भावनालाई निरन्तरता दिने जमर्को गरेको छ । 

स्मृतिसभामा एनडीएका नेताहरू विहारका पूर्वमुख्यमन्त्री जीतन राम मांझी, तमिल मनिला कङ्ग्रेसका नेता जीके वासन, एआइएडीएमकेका थम्बी दुरई, अपना दल नेता अनुप्रिया पटेल, एनसिपी नेता प्रफुल्ल पटेल र अगाथा सङ्गमालगायत अन्य नेताको उपस्थिति थियो । लोकसभा अध्यक्ष ओम बिर्ला र राज्यसभा उपाध्यक्ष हरिवंश, जेडियु नेता नितिश कुमार, वाजपेयीकी धर्मपुत्री नमिता कौल भट्टाचार्यले  दिवङ्गत नेताप्रति पुष्पार्पण गर्नुभयो । 

अर्को वर्षको लोकसभा चुनावलाई दृष्टिगत गरी केन्द्र र राज्यमा एनडीएलाई थप बलियो बनाउन भाजपाले राजनीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ती सबै कार्यक्रममा सत्तारुढ गठबन्धनका साझेदारलाई सरिक गराउने नीति अख्तियार गरेको छ । 

सन् १९२४ मा ग्वालियरमा जन्मनुभएका नेता वाजपेयीले लामो समयसम्म भाजपाको नेतृत्व गर्नुभयो । उहाँलाई भाजपाको पर्यायका रुपमा लिइन्थ्यो । तीनपटक भारतको प्रधानमन्त्री बन्नुभएका उहाँको भारतीय आयुर्विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोरारजी देशाईको मन्त्रीमण्डलमा उहाँ विदेशमन्त्री हुनुहुन्थ्यो । उहाँको स्मृतिलाई चिरस्थायी बनाउन मोदी सरकारले नेता वाजपेयीको जन्मदिन २५ डिसेम्बरलाई सुशासन दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।