नाइजर — नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन् । नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ । प्रवक्ता कर्नेल अमादोउ अब्दरमानेले आइतबार राति सरकारी टेलिभिजनमा भन्नुभयो, “सैन्य शासनले अपदस्थ राष्ट्रपति र उहाँका स्थानीय तथा विदेशी सहयोगीहरूलाई ‘उच्च राजद्रोह’ र नाइजरको आन्तरिक र बाह्य सुरक्षालाई कमजोर पारेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकारीहरूसमक्ष मुद्दा चलाउन आवश्यक सबै प्रमाणहरू जुटाएको छ ।”

उक्त घोषणामा न त आरोपको बारेमा कुनै स्पष्ट विवरण दिइएको छ न त मुद्दाको परिस्थिति वा सुनुवाईको मिति नै उल्लेख गरिएको छ । नाइजरका प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुमलाई राष्ट्रपति गार्डका सदस्यहरूले जुलाई २६ मा कब्जामा लिई पदच्युत गरेका थिए । त्यसपछि उहाँ आफ्नी पत्नी र छोरासहित राजधानी नियामीस्थित राष्ट्रपति परिसरमा नजरबन्दमा हुनुहुन्छ ।

राष्ट्रपतिका नजिकका व्यक्तिहरू र उहाँको सत्तारुढ दलका नेताहरूले उहाँको परिवारको बिजुली र पानी काटिएको र उनीहरूको खाना समाप्त भएको बताएका छन् । जुन्टाले आइतबार राति यी रिपोर्टहरू खारेज गर्दै पश्चिम अफ्रिकी राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय साझेदारहरूले जुन्टालाई बदनाम गर्न दुष्प्रचार गरेको आरोप लगाएको छ । एजेन्सी