फाइल तस्वीर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलिआइतबार आठ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्नेे भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।

बैंकको विकास ऋणपत्र भोलि आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने पर्सी सोमबार निष्काशन हुनेछ । सो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । वि.सं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोकार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।