फाइल तस्वीर
चितवन — भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम छ सय रुपैयाँ तोकिएको हो ।

महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताउनुभयो । उहाँले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गर्नुभयो । जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँमात्र लिने जनाएको छ ।

पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।