प्रतिकात्मक तस्वीर


सर्लाही — सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा एक युवकको शरीर विनाको टाउको भेटिएको छ । धारिलो हतियारले टाउको छेदन गरिएको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा आज बिहीबार बिहान करिब ८ बजे शरीरबिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी गराउनुभयो ।

सूचना अधिकारी पञ्जियारले भन्नुभयो —‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ । टाउको विनाको शरीर खोजिरहेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार गरिसकेको प्रहरीको भनाइ छ । स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ।

मलङ्गवाबाट अहिले प्रहरी उपरिक्षक नरेशराज सुवेदीको टोली र इलाका प्रहरी कार्यालय हरिवनबाट पनि इन्सपेक्टर शिवराम थापाको कमाण्डमको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिव २५/२६ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।