गण्डकी — गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत असार २२ गतदेखि स्थगित भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।
प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालका अनुसार त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गरिने भएको छ । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।
प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।