फाइल तस्वीर

काठमाडौँ — मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको छ । वि.सं. २०७९ सालको मदन पुरस्कारका लागि प्राप्त भएका ३ सय १३ कृतिमध्ये पाँच वटा कृति सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर छनोट भएका हुन् ।

उक्त कृतिमध्ये श्रेष्ठ सूचीमा समावेश पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ । यसअघि, २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले प्राप्त गरेको थियो ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । वि.सं. २०१२ सालमा स्थापित ‘मदन पुरस्कार’ गुठीले पहिलो पटक २०१३ सालमा “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

गुठीले २०२५ सालसम्म चार–चार हजारका दरले जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो भने त्यसपछि दश–दश हजार रूपियाँका दरले दुई सम्मान दिने व्यवस्था गरेको थियो । २०३३ साल पछि भने पच्चीस हजार रुपैयाँको एक मात्र सम्मान दिने व्यवस्था गरियो । त्यसपछि सम्मान रकम क्रमशः वि.सं.२०४० मा तीस हजार, २०४२ मा चालीस हजार, २०४३ मा पचास हजार, २०५१ मा एक लाख, २०६१ मा दुई लाख तथा २०७५ बाट चार लाख राशि प्रदान गर्दै आएको छ ।