फाइल तस्वीर
इस्लामावाद — भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् ।

पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदनउपर भोलि बुधबार सुनुवाइ हुने बताइएको छ । पूर्व अन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई गत शनिबार पक्राउ गरिएको थियो ।

गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्‍याएर उक्त अदालतले शनिबार नै उहाँलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।