फाइल तस्वीर


काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसम बदली रही केही क्षेत्रमा भारी वर्षा हुने छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, कोशी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपालमा मनसुनी वायुका साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको विभागकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।