काठमाडौँ — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि शपथ लिनुभएको हो ।


थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिनुभएको हो । गत असार २१ मा मुख्यमन्त्री बन्नुभएका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तमा हुनुभएको थियो ।

मुख्यमन्त्री थापाले शपथ लिनुभएसँगै सानो मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा काङ्ग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिनुभयो । सुनुवार र गौतम दुवै ओखलढुङ्गाबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।